Sunday, January 12, 2014

आसन्न अधिबेशन र हाम्रो दायित्व

  • हरिप्रसाद भुसाल
नेपाल पत्रकार महासंघ देशभरका पत्रकारहरुको सर्वोच्च निकाय हो । सम्पूर्ण आस्था र विचारहरुलाई एकतावद्ध बनाउने र पत्रकारहरुको हक हित एवं अधिकारको लागि क्रियाशिल बन्नु पत्रकार महासंघको दायित्व हो । खासगरी राज्यको वाच डगका रुपमा काम गर्नुपर्ने  र सवै प्रकारका सवाललाई जनताको विचमा जस्ताको तस्तै प्रस्तुत गर्नुपर्ने भएकाले यो पेशा जोखिमयुक्त र कठिन पेशा हो । जसको कारण पनि पेशागत सुरक्षाको लागि पनि नेपाल पत्रकार महासंघको विशेष महत्व रहनुपर्छ ।

करीव करीव देशभरका आठ हजार सदस्य रहेको पत्रकार महासंघमा यतिवेला महाधिबेशनको सरगर्मी शुरु भएको छ भने मिती घोषणा भइनसकेपनि जिल्ला शाखाहरुमा समेत चुनावी रौनक शुरु भएको छ । देशभर करीव सात दर्जन शाखामा अवको करीव करीव दुर्य महिना भित्रमा अबिधेशन गनर्वुपर्ने अवस्था छ । अबिधेशनको पूर्व सन्ध्यामा जिल्ला स्तरमा लविङ्ग शुरु भइसकेका छन् । खुल्ला रुपमा नदेखिएपनि भित्री रुपमा लविङ्ग मात्र होइन बार्गेनिङ्ग र मोलमोला समेत शुरु भइसकेको अवस्था छ ।

महाधिबेशन र अबिधेशनको संघरमा उभिएको नेपाल पत्रकार महासंघ माथी यतिवेला धेरै चुनौतीहरु खडा भएका छन् । ती चुनौतीहरुको पहिचान गरी चिर्नको लागि पत्रकार महासंघले ठूलो प्रयत्न र मेहनत गर्नुपर्ने देखिन्छ । आफुमाथी लाग्ने गरेका दोशहरुको पहिचान गरी त्यसको निराकरण गर्नका लागि केवल महासंघ मात्र होइन सम्पूर्ण पत्रकारीता क्षेत्रमा क्रियाशिलहरु लाग्नुपर्ने आवश्यकता छ ।

पार्टी पत्रकारीताको दाग ः
सवैको आवाज बोल्ने पत्रकारीताले आस्थाको आधारमा बोल्न थालेको छ । आवाज विहिनका आवाज उठाउनुपर्ने पत्रकार हुनेखाने र ठूलावडाको आवाज उठाईरहेको छ । समाताको आधारमा निष्पक्ष कलम चलाउनुपर्ने पत्रकार दलीय आस्थाको आधारमा कलम घुमाईरहेको छ । जसका कारण स्वतन्त्र पत्रकारीताको इतिहाँस समाप्त हुनेवाला छ । राजनीीतक पार्टीहरुले समेत गोप्य सूचनाहरु प्राप्त गर्नका लागि आफ्ना कार्यकर्ताहरुलाई सञ्चारमाध्यममा भर्ना गर्न थालेका छन् । यस्तो अवस्थामा राजनीति र पत्रकारीतालाई अलग बनाउदै आस्था विनाको पत्रकारीताको विकास गर्नु अहिलेको आवश्यकता बनेको छ ।

ठेकेदारी प्रथा अन्त्य ः
अहिले पत्रकारीतालाई मागी खाने भाँडो बनाउने प्रचलन बढ्दो छ । विशेषगरी जोखिमपूर्ण पेशा भएक कारण पत्रकारहरुको लागि परिचय पत्र निकै महत्वपूर्ण मानिन्छ । तर दलीय भागवन्डाका आधारमा सदस्यता वितरण गरिँदा पत्रकार महासंघको सदस्यता सेना, प्रहरी, शिक्षक हुँदै ठेकदारसम्म पुगेको छ । पत्रकारीता क्षेत्र र पत्रकारको नाम भजाएर रातारात करोडौं हसुर्नेहरुको गोजीमा महासंघको सदस्यता पुग्नु अहिलेको प्रमख समस्या बनेको छ । अवैध धन थुपार्नेहरुले आफ्नो कालो धनलाई सेतो बनाउनका लागि मात्र पत्रकारीताको प्रयोग गरेका छैनन्, परिचय पत्रको दुरुपयोग समेत गरिरहेका छन् । त्यसकारण महासंघको सदस्यता प्राप्त करीव करीव आठ हजार सदस्यकै एकपटक सदस्यता छानविन हुनु अनिवार्य बनेको छ ।

सस्तो भयो पत्रकारीता ः
कुनै समय थियो पत्रकार भनेपछि सवै थर्कमान हुन्थे । कार्यालयका हाकीमदेखी सामान्य नागरिक सम्म सवै पत्रकारहरुसम्म सचेत हुन्थे, कारण पत्रकारीता महँगो थियो । आधिकारीक रुपमा पत्रकार महासंघको सदस्यता पाउन निकै कठिन थियो । जसका कारण खारिएका र साँच्चै पत्रकारीता मार्फत समाज रुपान्तरण गर्न चाहनेहरु महासंघको सदस्य बन्ने भएकाले यसको विशेष र बेग्लै महत्व थियो । तर विडम्बना अहिले राजनीतिक आस्थाको आधारमा सदस्यता वितरण गरिँदा रेडियोका कार्यक्रम प्रस्तोतादेखी रेडियो सेट बजाउन र पत्रिका पढ्न समेत नजान्नेहरु महासंघको सदस्य भएका छन् । यो भन्दा ठूलो विडम्बना र चिन्ताको कुरा के हुनसक्छ ? त्यसकारण पत्रकार महासंघको सदस्यता अलिक गह्रौ बनाउनु अनिवार्य आवश्यकता बनेको छ ।

यी र यस्ता तमाम समस्याहरुको समाधान र निवारणको लागि पत्रकार साथीहरुले निकै बिबेक पुर्याउनेपर्ने अवस्था छ । पत्रकारीता गर्नेहरु कुनै राजनीतिक आस्थामा रहनुहुँदैन । त्यो नभए पत्रकारीतामा राजनीतिक आस्थाको गन्ध देखिन हुँदैन । यो पत्रकारीताको न्यूनतम मान्यता हो । अहिलेको लोकताीन्त्रक प्रतिष्प्रधात्मक युगमा आस्था विनाका मान्छे पाउन कठिन हुने भएपनि पत्रकारीता गर्ने मान्छे पुरै स्वतन्त्र हुन नसकेपनि स्वतन्त्रताको ढिकढाक हुनुपर्छ । पुरै दलीय पत्रकारीताको अन्त्य गरी स्वतन्त्र पत्रकारीताको विकास गर्नु अहिलेको टड्कारो आवश्यकता हो ।

त्यसकारण पत्रकार साथीहरु पत्रकार महासंघलाई स्वतन्त्र थलो बनाउनका लागि राजनीतिक आस्था विहनका पत्रकारहरुलाई महाअसंघको नेतृत्वमा लैजाउँ । त्यो संभव भएन भने कमसेकम पत्रकारीतामा राजनीतिक आस्था नमिसाउनेहरुलाई महासंघको नेतृत्वमा पु¥याऔं । तर जे सुककै होस् कुनैपनि बहानामा राजनीतिक दलको नेतालाई महासंघको नेतृत्वमा जानबाट रोकौं ।

अन्याथा यसपटक पनि आस्था सहितको पत्रकारीताको नाउँमा महासंघमा सिधै दलीय भागवन्डा गर्नतिर लाग्ने हो भने पत्रकार महासंघको कुनै औचित्य रहनेछैन । राजनीति गर्नेहरु, ठेक्का पट्टामा रमाउनेहरु र कालो धनलाई सेतो बनाउनेहरुबाट पत्रकार महासंघलाई बचाउन सकेनौं भने आगामी दिनमा पत्रकार महासंघ राजनीतिक क्रिडास्थल बाहेक केही बन्न सक्नेछैन ।

त्यसकारण महासंघलाई बचाउन साँच्चै पत्रकारीता गर्नेहरुलाई महासंघमाअ लैजाऔं । पत्रकारीताको खोल ओढेर राजनीति गर्नेहरुलाई बहिष्कार गरैं । महासंघको कार्ड बोकेर सल्लाका फेरा नाप्नेहरुलाई ससम्मान विदा गरौं । यसमा नै हामी पत्रकारहरुको वास्तविक जीत हुनेछ ।

(लेखक नयाँ एफ.एम.का स्टेशन म्यानेजर तथा अर्घाखाँची न्यूज साप्ताहिकका प्रधान सम्पादक हुन् )