Tuesday, August 20, 2013

संसारमा विरलै पाइने मान्छेको कथा

आज (भदौ ४, २०७०) दिउसो अलि हतारमा थिएँ । दिनभरको व्यस्तताका कारण दौडा दौड बढी नै थियो । यहाँसम्म की साथीभाईसंग फेनमा कुरा गर्न समेत उभिने समय थिएन मसंग । बाईकमै हेल्मेटले च्यापेर कुरा गर्दै थिएँ ।

तर म सवै काम विर्सिएर बेफुर्सदीलो तव भए, जव मोवाईल साथमा नरहेको पत्तो पाएँ । मोवाईल हराएको भन्दा पनि मलाई सिम कार्ड हराएको चिन्ता थियो, कारण अव यही नम्वरको सिम लिन केही झन्जट थियो । त्यसपछि आर्मीकुदाई शुरु भयो, आफु हिडेको बाटो घुम्या घुमै । घुम्दै विचविचमा साथीहरुको मोवाईलबाट फोन हान्दै पनि थिएँ । सम्पर्क हुन सकिरहेको थिएन ।

करीव त्यो बाटोमा तिन चक्कर लाएपछि ९५ प्रतिशत आश मारेर कोठामा फर्किएँ । कोठामा आइसकेपछि द रोयल होटलको लेन्ड लाईनबाट फोन लगाएँ । फोन गयो अनि नभन्दै उठ्यो पनि । फोन उठेपछि उताबाट आवाज आयो, मोवाईल मैले भेटाएको छु लिन आउनुस् । उसकै भनाई अनुसार उ भएको ठाउँमा गएँ । त्यहाँ एकजना कल्लु चौधरी भन्ने भाई देखिए (केही समय अघिसम्म बुँगुरको मासु वेच्ने उनी आजकाल शायद ट्याक्टर चलाउछन होला ं) उनी मुसुमुसु हाँसिरहेको अवस्थामा भेटिएपछि मलाई मान्छे चिन्न समस्या परेन । उनीसंगै गएँ, मोवाईल भेटाउने तपाई हो ? भनेर कुरा शुरु गरें । उनले गोजीबाट मोवाईल झिक्दै, भेटाएको ठाउँमा इशारा लगाउदै मलाइ मोवाईल थमाए । त्यसपछि मोवाईल पाएपछि गच्छे अनुसारको बक्सिस दिदै उनलाई धन्यवाद दिएर त्यहाँबाट फर्किएँ । यो मेरो आजको आधा दिनको दैनिकी ।

त्यहाँबाट फर्किएर नयाँ एफ.एम.को कार्यालयमा आएर एकछिन आराम गर्दै गर्दा मनमा धेरै कुराहरु खेले । सामान्य ट्याक्टर चलाउने कल्लुको इमान्दारिता देखेर मलाई आफैदेखी दया लागेर आयो । आफैलाई प्रश्न गरेँ यो इमान्दारिताको कतै ममा खडेरी त छैन । यस्तै इमान्दारहरु हुने हो भने नेपालीका सन्ततीहरुले जन्मदै ऋणको भारी बोकेर जन्मनुपर्ने त पक्कै थिएन होला ।

यहाँको इमान्दारिताको लागि धेरै धेरै धन्यवाद कल्लु भाई । खान पुगोस् दिन पुगोस् ।

Saturday, August 10, 2013

जिल्ला अपाङ्ग समन्वय समितिको गठन

अर्घाखाँची जिल्लामा रहेका अपांगता सम्वन्धी काम गर्ने संघ सस्थाहरुको संयुक्त भेलाले जिल्ला अपांग समन्वय समितिको गठन गरेको छ । सन्धिखर्कमा साउन २६ गते सम्पन्न भेला नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

सवै संस्थाहरुको छाता संगठननको रुपमा गठित समितिको भेलामा श्रीजनशिल अपांग विकास केन्द्र, छत्रगञ्ज अपांग उत्थान समाज,, निर्मल नवज्योती सुस्त मनस्थिती केन्द्र, अर्घाखाँची नेत्रहिन संघ लगायतका संघ संस्थाका प्रतिनिधीहरु सहभागि भएका थिए ।

भेलाले श्रीजनशिल अपांग विकास केन्द्रका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको हो । जसको उपाध्यक्षमा कमला परियार, महासचिवमा टिकाराम भुसाल, सचिवमा सावित्रा के.सी., कोषाध्यक्षमा राम प्रसाद गैरे रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरुमा इन्द्र गेला·, कमला भुसाल, गोमा पराजुली, राधा सुनुवार, हुमा गैरे, शोभाखर वाग्ले, रामप्रसाद पौड्याल, सिता भट्टराई, विन्दु परियार र तुल्सी पौड्याल रहेका छन् ।

नवगठित समन्वय समितिले जिल्लाभरका अपांगहरुको हकहितका लागि मुख्य भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष भुसालले बताए । “जिल्लाभर छरिएर रहेका अपांगहरुको अधिकारको लागि प्रयास गर्ने र अपांगहरुको लागि विनियोजित बजेत लक्षित तहसम्म पु¥याउनको लागि संस्था क्रियाशिल बन्ने बताए ।

त्यो खाम सुटुक्क ल्याउनु

एकोहोरो टोलाएर कुर्सीमा बसिरहेको थिएँ । कार्यालयमा काम गर्ने एकजना बहिनी (शायद उनको नाम कृपा थियो) ले सरले भित्र कोठामा बोलाउनुभएको छ भन्ने खवर कानमा सुनाईन । पत्रकारीतामा केही रुचि राख्ने भएका कारण भर्खर भर्खर त्यस क्षेत्रमा पसेको मलाई पत्रिकाको प्रकाशकसंग भेट्न पाउनु सौभाग्यको कुरा पनि थियो । ती वहिनीको कुरा भुईमा खस्न नपाउदै म प्रकाशकको कोठामा पुगेँ ।

प्रकाशक कुर्सीमा बसेर रातो खाममा कुन्नी के मिलाउदै थिए । निकै मेहनतका साथ खाम मिलाउदै गरेको उनको अलिक परको एउटा कुर्सीमाअ टुसुक्क बसेँ तर उनीसँग कुरा गर्ने हिम्मत जुराउन सकिन । ठूलो मेहनतका साथ नमस्कार सर भन्न सम्म भ्याएँ । उनले शायद नमस्कार त भने तर म तिर नजर पनि दिइरहेका थिएनन् । कुर्सीमा बसेको थिएँ, अनि उनले सोध्ने समयकटाउ प्रश्नहरु (के छ हालखवर, खाना खायौं, कसरी वित्दैछन दिनहरु, किन कालो टोपी लगाएको, तिमीलाई गर्मी मौसम कत्तिको मन पर्छ, इत्यादी इत्यादी) को जवाफ दिइरहेको थिएँ ।

उनले आफ्नो काम भ्याएका रैनछन क्यारे, उनले समयकटाउ गफ गरिरहेका थिए । करीव करीव १५ मिनेटको गफगाफ पछि उनले कुराकानीको साराँस पेश गर्दै भने “ भनेपछि क’रा ठिकै रैछ तिमीले एउटा काम गर्नुपर्यो,  नयाँ मान्छे पत्रकारिता सिक्दै पनि गर्नुपर्छ । डोनरहरुसंग चिनजान पनि गर्दै गर्नुपर्छ ।” म एकसरो सुनिरहेको थिएँ । उनी भन्दैथिए “ म तिमीलाई साँच्चैको पत्रकार बनाउछु । ”

पत्रिकाका मालिकसंग प्रत्यक्ष भेटघाट गर्ने सौभाग्य पाएकोमा खुसी भएको मैले मुसुमुसु हाँसिरहेको नाटक गरी मन्टो हल्लाएजस्तो गरिरहेको थिएँ । उनका कुराहरु सुनिरहेको पनि थिएँ ।

कुरा गर्दैगर्दा उनी कुर्सीबाट जुरुक्क उठेर मेरो छेउमा आए । करीव करीव आधा घण्टाको समयमा तयार पारेको खाम  मतिर देखाउदै उनले भने “ यो त्रिटन कलेजको प्रिन्सिपलको हातमा दिनु यो खाम हेरेपछि उनले तिमीलाई पनि एउटा खाम दिनेछन् त्यो खाम कसैलाई पनि नदेखाई यहाँ ल्याउ तिम्रो लागी के गर्नुपर्छ म गरौंला ।”

उनको यो आग्रहले मलाई रन्थनायो । यो काम सिधै गलत नियतबाट हुँदैछ भन्ने बुझेको मलाई खाउँ भने दिनभरीको सिकार नखाउ भने कान्छाबाउको अनुहार भनेजस्तो भयो । किनकी यो काम गरेँब भने मेरो स्वच्छ पत्रकारिताको पहिलो स्टेप नै दुषित बन्ने पक्का छ भने काम नगरेमा यस पत्रिकाबाट हात धुनुपर्ने निश्चित छ । केही समय गम  खाउँ । अनि बैठक वसेर  निर्णय निकाल्ने निर्णय गरेँ । करीव करीव आधा मिनेट बसेको अन्तरमनको बैठकले यो काम(खाम पुराउने) नगर्ने निष्कर्ष निकाल्यो । त्यसपछि केही समयपछि आउँछु भन्दै म कार्यालयवाट बाहिरिएँ ।

कुरा करीव करीव ६३ सालतिरको हो । भाद्र महिना थियो होला । (पत्रिकाको नाम यहाँ उल्लेख नगरौं ।) मैले कार्यालयबाट निस्किएपछि न त यो पत्रिका कतै वजारमा देखेको छु । न त पहिला नै देखेको थिएँ । मलाई सम्झना छ, उनी (प्रकाशक) ले मलाई रु ५०० दिएर बजारमा पत्रिका खोजेर किनेर ल्याउन अह्राएका थिए । त्यतीवेला मैले मुस्किलले काठमाण्डौका गल्ली गल्ली चहार्दा पनि दुइ दिनको विचमा तीन ओटा पत्रिका भेट्टाएको छु ।

अर्घाखाँचीका पत्रकार काठमाण्डौमा लुटिए

अर्घाखाँची जिल्लामा रहेर विभिन्न स्थानीय मिडियाहरुमा काम गर्ने पत्रकार माधव बेल्वासे काठमाडौमा लुटिएका छन् ।

विरामी आमाको उपचारका लागि काठमाडौ गएका पत्रकार बेल्वासे गोगंबु बसपार्कमै लुटिएका हुन । काठमाण्डौ बसपार्कमा ओर्लिइसकेपछि टिचिङ्ग अस्पताल जाने बाटो सोध्दैगर्दा उनलाई लुटेराहरुले नियन्त्रणमा लिएर लुटेको बेल्वासेले बताए ।

२ जना लुटेराले शुक्रबार विहान गाडीबाट उत्रिएलगत्तै पत्रकार वेल्वासेको साथमा रहेको ९० हजार रुपैयाँ लुटेका हुन् । आमाको स्वास्थ्य गम्भीर भएकाले तत्काल उपचार गर्न आफुसँग रकम नभएको उनले गुनासो गरे । बेल्वासेका अनुसार लुटेराहरुले बाहिर हल्ला गरेमा ज्यान मार्ने धम्की दिएका छन् ।

सिक्दै छु

अनलाईन पत्रकारीताको बढ्दो लोकप्रियता संगै ब्लग संग रमाउन सिक्दै छु । गाली र खिसी होइन सुझाव र सल्लाह दिनुहुनेछ भन्ने अपेक्षा छ ।

हरिप्रसाद नेपाली पत्रकार